अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता



दमौली । बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । विवाहको प्रलोभनमा नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता गरिएको हो ।


यसअघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ  । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।