कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा



काठमाडौँ । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन् ।

आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका छन् । थापाले आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् ।


कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्‍याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ,’ उनले भने, ‘पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा म विश्वास राख्दिनँ ।’

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाउनुभएपछि थापाले नयाँ पार्टी गठन गरेका हुन् ।

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका हुन् । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन् । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।