एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा



काठमाडाैँ । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुगेका हुन् ।

गत असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन नै ओलीले बालुवाटार छाडेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । सो छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । उनीहरुबीच अमेरिकी सहयोग परियोजना (एमसिसि), स्थानीय निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ ।


यसअघि गत पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए। उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवा बालकोट पुगेको करिब एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार भएका हुन् । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।