माओवादी केन्द्रीय समिति : श्रीमान् श्रीमती को को ?



काठमाडाैँ । माओवादीले आज बन्दसत्रबाट निर्वाचित गरेको केन्द्रीय समितिमा एकै घरका श्रीमान् श्रीमतीको पनि राम्रै उपस्थिति देखिएको छ ।

खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्


पूर्वमन्त्री वर्षमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । वर्षमान खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बन्दा उनकी श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् ।

कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बनेका छन् । खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनकी श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकि छन् ।

देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय समितिमा निर्वाचित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा निर्वाचित भएका छन् । उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी हुन् ।

दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन् । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय समितिमा अटाएका छन् । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेका हुन् । देवेन्द्र पराजुली र कल्पना धमला पनि श्रीमान् श्रीमतीका रूपमा केन्द्रीय समितिमा अटाएका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन् ।