एमाले भक्तपुर जिल्ला अध्यक्षमा देउजा



भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आज साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए ।

बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सुनाएकाे र त्यसमा कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिए । टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्ग्याएर ल्याएको र आजै शपथग्रहणपछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको बन्दसत्रमा सहभागी नेताले जानकारी दिएका छन् ।


जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि हिजो र आज बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको अथक प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ ।