एमाले पर्वतका अध्यक्षमा पौडेल



पर्वत । नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहेका उनलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो । महाशिला गाउँपालिका–५ निवासी उहाँ यसअघि आठाैँ जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए । त्यसअघि उनले एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गरेका थिए ।


त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित भएका छन् । नवाैँ जिल्ला अधिवेशनवाट ९० जनाको जिल्ला कमिटी नै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाइँले जानकारी दिए । जिल्लाका सातवटै स्थानीय तहबाट मिलाएर सदस्यहरु छनोट गरिएको बताइएको छ । नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनीयताको शपथ खुवाइएको छ । अधिवेशन यही पुस २३ गतेदेखि सुरु भएको थियो ।