अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान



पर्सा । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।

गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् । पक्राउ परेकामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।


मन्टुको परिवारबाट उनीहरुविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भीष्वास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो ।

अभियुक्तले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्त र पीडित परिवारबीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दबाब दिने उद्देश्यले बालकलाई अपरहण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको खनालले बताए ।

स्थानीयवासीका अनुसार दुवै परिवारबीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दबाब बढाउन उनीहरुले मन्टुलाई अपरहण गरेका थिए । पछि पहिचान खुल्ने डरले मन्टुको हत्या गरेर खेतमा शव फालेका थिए । अभियुक्तमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो ।