सरकारले सम्पूर्ण सम्झौता एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति छैनः बतास समूह



काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयभित्र रेन्टुरेन्ट संचालनको विषयलाई लिएर बतास अर्गनाईजेशनविरुद्ध आएका समाचारप्रति आपत्ति जनाउँदै लिखित स्पष्टीकरण दिएको छ ।

सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपूर्ण तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको भन्दै बतास समूहले प्रष्टीकरण दिएको हो । बतास समूहका अध्यक्ष आनन्दराज बतासले सातबुँदे स्पष्टीकरण दिँदै कानुनसम्मतरुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र रहेको उल्लेख गरेका छन् ।


विज्ञिप्तिमा भनिएको छ, ‘कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना होइन । त्यसैले बतास अर्गनाईजेशनले यस प्रकारका एकांगी, भ्रामक एवं पहिलो दृष्टिमा नै प्रायोजित देखिने त्यस्ता समाचार प्रकाशन, प्रशारण भइरहेको घटनालाई अचम्मको विषयका रूपमा भने लिएको छैन ।’

नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया भवन र संग्रहालयअन्तर्गतको गणतन्त्र स्मारकभित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेन्डर आह्वान गरिएपछि आफूहरूले कानूनसम्मत तरिकाले ठेक्का पाएको बतासको भनाइ छ ।

उनले भनेका छन्,‘बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरु मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहान्छौं ।”