विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा पहिरामा परेर कामदारको मृत्यु



रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको मृत्यु भएको छ । सो पहिरामा परी मृत्यु हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ ।


यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।