राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको पल्लाभारी



काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको पल्लाभारी भएको छ । १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा नेकपा एमालेका एक जना उम्मेदवार विजयी भएक छन् १८ जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट दुर्गा कुमारी गुरूङ, माओवादीबाट नरबहादुर विष्ट र समाजवादीबाट उदय बोहोरा निर्वाचित भएका हुन्। गुरुङ २ हजार ९७० मतभार ल्याएर विजयी भइन् । यस्तै नेकपा माओवादी केन्द्रका विष्ट ३००६ मतभार ल्याएर निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) का उदय बोहरा पनि ३००६ मतभार ल्याएर विजयी भएका निर्वाचन आयोगको कार्यालय कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् ।


यस्तै एमालेबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका एमालेका गंगा थापा महतले १४१६, चुडामणि शर्माले १४१६ र पदम माझीले १६९८ मत ल्याएका छन्। कर्णाली प्रदेशका निर्वाचनमा कुल १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका थिए।

गोलाप्रथाबाट पनि गठबन्धनकै उम्मेदवार विजयी
राष्ट्रिय सभामा निर्वाचनमा प्रदेश एकबाट गठबन्धनका उम्मेदवार गोलाप्रथाबाट विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच बराबर मत आएपछि गोला तानेर विजयी घोषित गरिएको हो । बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार पाएका थिए । प्रदेश एकबाट अल्पंसंख्यकतर्फ एमालेका सोनाम ग्यालजेन शेर्पा र महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएका छन् ।
गण्डकी र वाग्मती प्रदेशमा गठबन्धनै उम्मेदवार विजयी
पोखरा । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् । पन्तलाई स्थानीय तहबाट ९४ मत र प्रदेशसभा सदस्यबाट २९ मत प्राप्त भएको छ ।

उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत र प्रदेशसभा सदस्यको २९ मत पाइन् । यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत र प्रदेशसभा सदस्यको २९ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ र प्रदेशसभा सदस्यको २९ मत पाएका छन् । यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत र प्रदेशसभा सदस्यको ३० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ र प्रदेशसभा सदस्यको २८ मत पाएका छन्

वाग्मतीमा पनि गठबन्धनकै उम्मेदवार विजयी
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनका तर्फका नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत पाएकी थिइन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ मत पाएका थिए थिए । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कुल ४ हजार ७९४ मतभार प्राप्त गरे । पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत र प्रदेशतर्फ ४७ मत प्राप्त गरिन् । एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत प्राप्त गरे भने प्रदेशतर्फ ४७ मत पाएका थिए ।

प्रदेश एकमा एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित
प्रदेश एकमा राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेशमा तीनै जना सत्ता गठबन्धनका उम्मेदवार विजयी
धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित भएका हुन् ।

खुल्लाबाट कैलालीका मिश्र १४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन्। यस्तै सत्ता गठबन्धनकै माओवादी केन्द्रका जगत पार्की पनि १४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फकी एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए । राष्ट्रियसभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्टको फागुन २० गते पदावधि सकिँदै छ । उनीहरुको स्थानमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
लुम्बिनी । लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर विजयी भएका निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको छ, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याएका छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् । स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।