प्रहरी नियमावली संशोधनले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको छः प्रहरी प्रवक्ता केसी



काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता केसीले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भने ।


पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उनको भनाइ थियो । प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो । पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो ।

कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताए । तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ ।

हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन् । प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो ।

अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताए ।