प्रदेश २ को नाम ‘मधेश’ प्रदेश



जनकपुरधाम, माघ ३ गते । प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ ।

स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको छ ।


आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो ।

त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फवाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो । उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो ।