कोभिड खोपको विरोधमा क्यानडाको राजधानी ओटावा दोस्रो दिन पनि ठप्प



अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ ।

राजधानी ओटावामा ’फ्रिडम कन्भोई’ भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् । उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ । रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताइन् ।


ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धानहरू थालिएको जनाएको छ । त्यस्तै उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि गरिएको धम्कीपूर्ण व्यवहारको पनि अनुसन्धान गरिरहेको जनाएको छ । ट्रक चालकहरूले क्यानडाको संसद भवन वरपरका सडकहरू ट्रक राखेर अवरुद्ध पारेका छन् ।

ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन् ।

उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए । सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन् । क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्।