बाजुराका तीन पसलमा आगलागी, लाखौँको क्षति



बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताउनुभयो । उहाँका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको बताउनुभएको छ ।


आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ रहेको छ । बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । –––