माओवादी राष्ट्रिय सम्मेलनः सम्पूर्ण तयारी सकियो



काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुने भएको छ ।

सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसिएलले विभिन्न स्वागतद्वार बनाएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् । यस्तै, राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको वाइसिएलले जनाएको छ । यद्यपि, माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय आज बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।


जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पु¥याउने र भरपर्दो कम्युुनिष्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ । शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने बताएका थिए ।

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले)सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो । नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय सम्मेलन (आठाँै महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफैँ खाने बस्ने प्रबन्ध गर्न भनेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ ।

माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ । उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) ले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरुपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई शुक्रबारको बैठकले नै दिएको हो ।

यसरी हुन्छ सहभागिता माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

माओवादीले पहिलोपटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ । माओवादीले गत मङ्सिर ४ गतेदेखि नै पार्टीको वडा सम्मेलन गरेको थियो। त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो । आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना ग¥यो ।

प्रदेश २ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ । गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरियो । बागमती र प्रदेश–१ मा निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन भएको छ । शुक्रबारको स्थायी समितिको बैठकले पार्टीको पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ । माओवादीको यस पटक निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ । यद्यपि माओवादीका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेश गरिसकेको अवस्था छैन । पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताले दाबी गरिरहेका छन् ।

सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दाबी गरेका छन् । यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवका लागि इच्छा व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दाबी छ । तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्षसमेतको जिम्मेवारी सम्हालिसकेको भन्दै भुसालले आफू महासचिवका लागि योग्य रहेको बताएकी हुन् ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ ।

माओवादीको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरेको हो । वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरे । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरेको हो ।