माओवादी बन्दसत्रबाट प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित



काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन बिहीबारको बन्दसत्र हलबाट पारित भएको छ । राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिएका हुन् । विधान र राजनीतिक प्रतिवेदन पारित भएसँगै आजको बन्दसत्रको कार्यक्रम सकिने पनि उनले बताएका छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए । 


जसमा ज्येष्ठ कम्युनिष्ट मञ्चको समन्वयको जिम्मेवारी एनके प्रसाई, सल्लाहकारहरुको नन्दकुमार थापा, बागमती प्रदेशका प्रतिनिधिहरुको सरल सहयात्री, आयोगका सदस्यहरुको विष्णुपुकार श्रेष्ठ, जनवर्गिय संगठन, मोर्चाका इन्चार्ज, अध्यक्ष प्रसितनिधिहरु, केन्द्रीय कार्यालय र एकताबाट आएका प्रतिनिधिहरुको समन्वयको जिम्मा अमृता थापा मगरलाई ताेकिएकाे थियाे ।

साथै प्रदेश १ को हर्क नेम्वाङ, प्रदेश २ को गणेश शाह, लुम्बिनी प्रदेशका प्रतिनिधिहरुको चक्रपाणी खनाल, गण्डकी प्रदेशको गायत्री गुरुङ, प्रवास समितीको लक्ष्मण पन्त, कर्णाली प्रदेशका प्रतिनिधिहरुको विमला केसी, सुदूरपश्चिमको खगराज भट्ट, सम्पूर्ण विभागका प्रतिनिधिहरुको मायाप्रसाद शर्मा, उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरुको जगत सिंखडा, सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरुको जिम्मा कृष्ण अधिकारीलाई तोकिएको थियो ।