प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै ओलीलाई बारको ज्ञापनपत्र



काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार बालकोटस्थित ओली निवास पुगेको बारको टोलीले जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

वरिष्ठ अधिवक्ता शम्भु थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै हालतमा नमान्ने बताएका छन् । 


‘अदालतमा अति भएको छ । प्रधानन्यायाधीशलाई देउता, इश्वर मान भनेर सबै दलले भने पनि हामी मान्ने अवस्थामा छैनौं,’ थापाले भने । उनले प्रधानन्यायाधीश र न्यायाधीशबारे संसदीय समितिहरूमा छलफल चलाउनका लागि पनि प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । ‘यो विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई ल्याएर संसदीय समितिमा छलफल चलाइयोस्,’ उनले भने ।

ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेकोलगायत १७ वटा आरोप लगाइएको छ । बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।