जनकपुर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको डिलरमा मल खरिद गर्न गए तर पाएनन् । दुई दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निराश भएर रितो हात घर फर्किए । ‘‘गहुँको बीउ छर्ने बेला मल चाहिएपछि डिलर धाउँदासमेत एक बोरा मल पाइएन”, उनले भने, ‘‘धानको सिजनमा जसोतसो मल पाइएको थिएँ, अहिले त मल नै पाइएन । डिलरहरु चहार्दाचहार्दै निराश बनेको छु ।” गहुँको बीउ छर्ने बेलामा मल नपाएपछि यसको उत्पादन न्यून हुने चिन्तामा यहाँको किसान रहेको उनको भनाइ छ ।
धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको औरही गाउँपालिका–४ का शत्रुधन यादव पनि मल नपाएपछि निराश बनेका छन् । ‘‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ तर मल पाउन सकिन्”, उनले भने, ‘‘ कृषि सामग्री कम्पनीको कार्यालयमा जाँदा गाउँको डिलरमा जानु भन्छ, डिलरमा जाँदा मल आएको छैन भन्छन् ।” मल नपाएपछि गहुँबाली लगाउनै समस्या भएको उनको भनाइ छ ।
यो समस्या रोहित र शत्रुधनको मात्र होइन, धनुषा र महोत्तरीका अधिकांश किसानको समस्या हो । धानबाली भित्र्याएपछि गहुँबाली लगाउने तयारीमा जुटेका किसान समयमा प्रयाप्त मल नपाएपछि निराश बनेका हुन् । धनुषा र महोत्तरीलगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा धानबाली पछि गहुँबाली लगाउने गरेका छन् । तर समयमा मागअनुसारको मल नपाउँदा किसानहरु वर्षेनी मार खेप्दै आएका छन् ।
कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताए । अधिकांश खेतीयोग्य जग्गामा धान काटीसकेको र गहुँबाली लगाउने बेला भइसके पनि समयमा मलखाद्य नपाउँदा किसान मारमा परेको उनको भनाइ छ । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डीएपी र युरिया मलको आपूर्ति घट्दै गएपछि किसानले ठूलो मार खेप्दै आएका छन् ।
धनुषामा वर्षेनी रासायनिक मलको माग बढ्दै जाने तर आपूर्ति भने घट्दै जान थालेपछि यस्तो अवस्था आएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर धनुषाका प्रमुख रामकुमार चौधरीले बताए । एकातिर धनुषामा रासायनिक मलको माग बढ्दै गएको छ भन्ने अर्काेतिर जिल्लामा रासायनिक मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी धनुषामा वर्षेनी मलको आपूर्ति घट्दै गएको छ ।
केन्द्रले चालु आर्थिक वर्षमा धनुषाका लागि पाँच हजार मेट्रिक टन युरिया र चार हजार ५०० मेट्रिक टन डीएपी मलको लक्ष्य तोके पनि हालसम्म दुई हजार ९०५ मेट्रिक टन युरिया र एक हजार ६२७ मेट्रिक टन डीएपी प्राप्त भएको प्रमुख चौधरीले बताए । तीमध्ये दुई हजार ३५० मेट्रिक टन युरिया, एक हजार ५८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको छ ।
हाल ५५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी गोदाममा रहेको प्रमुख चौधरीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्ष ०७७÷०७८ मा छ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा युरिया तीन हजार २०० र डीएपी चार हजार ५०० मेट्रिक टन मात्र आपूर्ति भएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मा भन्दा चालु आर्थिक वर्षमा रासायनिक मलको कोटा कम गरे पनि त्यस बमोजिम आपूर्ति नभएको प्रमुख चौधरीको भनाइ छ ।
यसवर्षको गहुँ सिजनका लागि तीन हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मलको माग गरे पनि ६२७ मेट्रिक टन डीएपी र ९०५ मेट्रिक टन युरिया मात्र उपलब्ध भएकाले सबै किसानलाई मल उपलब्ध गराउन समस्या भएको उनले बताए । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि कोटा निर्धारण गरी स्थानीय तहमा रहेको सहकारी संस्थाका डिलरहरु मार्फत किसानलाई मल वितरण गर्दै आएको जनाएको छ ।
“हामीलाई जति मल प्राप्त भएको छ, त्यसलाई कोटा बमोजिम स्थानीय तहको सिफारिसमा वितरण गर्दै आएका छौँ”, प्रमुख चौधरीले भने,“ मल आए लगतै बिक्री वितरण सुरु गरेका छौँ, तर मागबमोजिम मल उपलब्ध गराउन नसकिएकाले सबै किसानले पाउने अवस्था छैन ।” बाली सघनता र खेतीयोग्य क्षेत्रफलको आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरहरुलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख चौधरीको भनाइ छ ।
डीएपी र युरिया मलको वर्षेनी आपूर्ति कम भएपछि कृषि सामग्री कम्पनी लहानले झन्डै आधा मूल्य बराबरको रासायनिक मल मात्र बिक्री गरेको छ । गहुँबाली लगाउने बेला भएकाले युरिया र डीएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमा नाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डीएपी मलको आभाव हुने गरेको उनले बताए । डीएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटकपटक पत्राचार गरे पनि वर्षेनी आपूर्ति घट्दै गएकाले समस्या परेको प्रमुख चौधरीको भनाइ छ ।