ओमिक्रोनबाट बच्न तीन डोज खोप आवश्यक



कोभिड खोपको दुई मात्राले मात्र ओमिक्रोनको सङ्क्रमणको खतरा नटर्ने बेलायतका वैज्ञानिकहरूले चेतावनी दिएका छन् । बेलायतका ओमिक्रोन र डेल्टा सङ्ग्रमणका घटनाहरूको प्रारम्भिक विश्लेषणबाट दुई मात्रा खोप नयाँ भेरियन्ट सङ्क्रमणबाट जोगाउन कम प्रभावकारी भएको पाइएको छ ।

तर तेस्रो अर्थात् बूस्टर मात्रा लगाउने हो भने ७५ प्रतिशत मानिसमा कोभिडको कुनै पनि लक्षण नदेखिने बताइएको छ । यसैबीच मन्त्री माइकल गोभले बेलायमा चिन्ताजनक स्थिति रहेको चेतावनी दिएका छन् । बेलायतमा हालसम्म ओमिक्रोन सङ्क्रमितको पुष्टि भएको सङ्ख्या एक हजार २६५ छ । शुक्रवार रेकर्ड गरिएको कुल कोभिड सङ्क्रमण भने ५८ हजार १९४ थियो जुन जनवरी ९ यताको सबभन्दा ठूलो सङ्ख्या हो ।


सरकाले केयर होमहरूका लागि बनाइएको निर्देशिका परिवर्तन गर्दै केयर होममा बसेका मानिसलाई भेट्न आउनेहरूको सङ्ख्यामा नियन्त्रण गर्न लागिएको बताएको छ । अति सङ्क्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागे यता खोपले त्यस सङ्क्रमणविरुद्ध काम नगर्ने हो कि भन्ने चिन्ता छ । बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले ५८१ वटा ओमिक्रोन सङ्क्रमण र हजारौँ डेल्टा भेरियन्ट केसको विश्लेषण गरेर नयाँ भेरियन्टप्रति खोप कत्तिको प्रभावकारी छ भन्ने हेर्न खोजेको बताएको छ ।

विश्लेषण सीमित तथ्याङ्कमा आधारित छ तर अक्सफर्ड आस्ट्राजेनेका र फाइजरको दुई मात्रा लगाउँदा पनि प्रभावकारिता खस्केको तथ्यमा आधारित छ । बूस्टरपछि कोभिड लक्षणबाट ७५ प्रतिशत सुरक्षा हुन्छ जुन यस अघिको भेरियन्ट विरुद्ध सुरक्षाभन्दा कम हो । मोडेर्ना र जोनसन खोपकोबारेमा तथ्याङ्क उपलब्ध छैन तर त्यसको फरक परिणाम आउन सक्छ भनेर सोच्ने ठाउँ पनि छैन । खोपले धेरै मानिसलाई अस्पताल जानुपर्ने अवस्था आउनबाट बचाउँछ भन्ने छ ।

तर ओमिक्रोन भेरियन्ट अति सङ्क्रामक भएकाले ठूलो र हठात लहर आयो भने जोखिमपूर्ण अवस्थाका धेरै मानिसहरू अस्पताल जानुपर्ने अवस्था आउन सक्छ । बेलायतमा हरेक दुई वा तीन दिनमा ओमिक्रन सङ्क्रमितको सङ्ख्या दोबर हुने गरेको छ । यदि अहिलेकै जस्तो सङ्ख्या बढ्दै गए डिसेम्बरको अन्त्यसम्ममा दैनिक १ लाख जना ओमिक्रोनबाट सङ्क्रमित हुने अनुमान गरिएको छ।