हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत



खलङ्गा । हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ ।

हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत हुने तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए । जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ ।


“सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ । वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ । पानी परेकाले ज्यादै खुसी छौँ ।” तिला गाउँपालिका–१ का स्थानीयवासी माने रावतले भने, “ सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन् । सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ । ”

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको छ । हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ ।

अत्यधिक जाडो वर्षाले जुम्लाको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ । केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयवासीले बताएका छन् । वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेको छ । जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी राकेश शाहीले जानकारी दिए । बिहीबारदेखि लगातार हल्का वर्षा भइरहेको छ ।