राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेकाे राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको उल्लेख गर्दै उनले सबैमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, “बिपी कोइराला तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यान नै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गर्नुभएको थियो । यो दिनले हामी सबैलाई सधैँ देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ ।”

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएकाे आजको दिनलाई मेलमिलाप दिवसका रुपमा मनाइदै आइएको छ ।