बैतडीमा भारी हिमपात



बैतडी । बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् ।

अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने, “अझै हिउँ पर्ने क्रम जारी छ, यातायातका साधन चल्न सकेका छैनन् ।”


हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।