बस दुर्घटनामा एककाे मृत्यु, २२ जना घाइते



सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।