काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन् । बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो । नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।