प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित



काठमाडौँ । मौसममा आएको बदलावका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ ।

मंगलबार रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले हवाई उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।


त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । आजका लागि १३७ वटा उडान रहेको छ । तर, प्रतिकूल मौसमका लागि धमाधन उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ ।

यसैगरी, धनगढी, भद्रपुर, सिमरा, नेपालगञ्ज, जनकपुर, भैरहवा, सुर्खेत, विराटनगर र भरतपुरमा उडान भइरहेको छ भने पोखरा र लुक्लामा भने उडान हुन नसकेको कार्यालयले जनाएको छ ।

यता, एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।