जर्मनीद्वारा नेपाललाई ४१ लाख डोज खोप प्रदान



काठमाडाैँ । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडालाई उहाँले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए ।


कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उनले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताए । “कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,” मन्त्री खतिवडाले भने, “जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।”