कांग्रेस १४ औँ महाधिवेशन : आज मनोनयन दर्ता हुने



काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारी मनोनयन दर्ता उपर दावी विरोध र जाँचबुझका लागि आजै साँझ  ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुनेछ । त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ ।


कांग्रेसले यसपटकको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ । 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य  निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।