करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ



काठमाडाैँ । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि आज पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको विसं २०५७ असार २३ को फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट पक्राउ गरेको हो । अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो ।


तत्कालिन समयमा २० वर्षका रहेका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।