आजदेखि काँग्रेस प्रदेश अधिवेशन सुरु



काठमाडाैँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा आज अधिवेशन उद्घाटन हुँदैछ । संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हाे ।

नेपाली काँग्रेसकाे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सातै प्रदेशमा एकैपटक भर्चुअल रूपमा प्रदेश अधिवेशन उद्घाटन गर्दैछन्।


प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।

प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ।

यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन्।

समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि  मतदान गर्नेछन् । 

कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् ।