सर्वदलीय बैठक : संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दललाई आह्वान



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेकाे आजको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवरुद्ध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिए । यद्यपि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन ।


“निरन्तर संसद् गतिरोधका कारण केही महत्वपूर्ण विधेयक र प्रस्तावसमेत अल्झिएका छन्, संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ”, बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता कार्कीले भने, “सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन, विरोध र असहमति प्रकट गर्ने मूल थलो संसद् भए पनि सिङ्गो संसद्लाई यसरी बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ ।” उनले प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको पनि बताउनुभयो ।