मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का



बैतडी । मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् ।

सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा आज दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिङ्ग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।


बाटोबाट करिब २५० मिटर तल भिरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले भने, “बोहराको कसरी मृत्यु भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन, प्रहरी टोली घटनास्थल पुगेपछि र अनुसन्धानपछि थप कुरा थाहा हुन्छ, प्रहरी टोली भोलिमात्रै त्यहाँ पुग्छ होला ।” यता बोहराका आफन्तले भने हत्याको आशङ्का गरेका छन् । उनीहरुले घटनाको विषयमा छानबिन गर्नुपर्ने बताएका छन् ।