माओवादी महाधिवेशन : समूहगत छलफल जारी



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दशसत्रको दोस्रो दिन आज पनि जारी रह्यो ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङद्वारा प्रस्तुत विधान मस्यौदामा दिनभर समूहगत छलफल भएका थियो ।


समूहगत छलफलका लागि सोमबार २५ समूह गठन गरिएको आज साँझ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्ने तयारी गरेका छन् । समूहगत छलफलका लागि दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

बुधबार अपरान्ह १ बजेदेखि महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतीका लागि १५ मिनेटको समय दिइएको छ ।