पर्वतका उच्च पहाडी भेगमा हिमपातले जनजीवन प्रभावित



पर्वत । यहाँका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ । हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ ।

वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् । कुश्मा नगरपालिका वडा नगरपालिका–१४ आर्थर डाँडाखर्कका सञ्जीव गुरुङले पञ्चासे क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात भइरहेको जानकारी दिए । पर्वतका उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुँदै आएको छ ।