नामावली दर्ता गर्ने कर्मचारीमाथि कुटपिट



काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ ।

बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ । नामावली सङ्कलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए ।


“ममाथि सुनियोजित तरिकाले आक्रमण भयो”, उनले भने, “आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।” जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । “कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ”, उनले भने, “पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।”