ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, “नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म विश्वास दिलाउन चाहन्छु ।”

खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु प्राथमिकता रहेको बताउँदै उनले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने बताए । प्रधानमन्त्री देउवाले भने, “मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु प¥यो, अहिले हामी थेरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।”


अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । उनले भने, “नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्कै अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पूँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानुनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा विकासलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन र योजना छनोट प्रक्रियालाई पारदर्शी तुल्याउन अत्यन्त आवश्यक रहेको बताए । उनले भने, “विकास निर्माणमा कायम रहेको लाइसेन्सराजको सम्पूर्ण हिसाबले अन्त्य हुनुपर्छ, विकासका योजनालाई कसरी बढाउने भन्ने स्पष्ट खाका आवश्यक छ, आयोजना कार्यान्वयन हुन नसकेर बजेट रकमान्तरण हुने परिस्थिति रोकिनुपर्छ ।” उद्योगपति एवं सांसद विनोद चौधरीले राज्यका नियमनकारी संस्थालाई चुस्त तुल्याउँदै अर्थतन्त्रको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई सुदृढ तुल्याउन महासङ्घले तयार गरेको योजनालाई अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा उद्योग र रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच छलफल, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विचौलिया र तरलतासम्बन्धी समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

अर्थ विश्लेषक अच्युत वाग्लेले मुलुकको अर्थतन्त्र र राजनीतिबीचको कडी भत्किएको, व्यापार घाटाको सन्तुलन फराकिलो रहेका बेला सङ्घीयताले स्थायित्व प्राप्त नगरी समृद्धि हुन्न भन्ने पाटोमा विचार पु¥याएर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्न सुझाव दिए । सो अवसरमा सेजनका अध्यक्ष जनार्दन बराल, पूर्वाध्यक्षहरु किरण नेपाल, प्रदीप चापागार्इं, गोपाल तिवारी, गोकर्ण अवस्थी, पुष्पराज आचार्य र भीम गौतमले आर्थिक पत्रकारितको गुणस्तर र क्षमता बढाउने सन्दर्भमा संस्थाले गर्दै आएका गतिविधि र योगदानको जानकारी दिए ।