काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो । गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्ले निर्वाचित भएका छन् । वाग्लेले दुई हजार ७२० मत प्राप्त गरे ।
यस्तै शोभियतबहादुर अधिकारीले दुई हजार ३४ र रेशमबहादुर बानियाले एक हजार ९३८ मत प्राप्त गरेकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएका छन् । यसअघि कांग्रेसको सहमहामन्त्रीमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित भएका थिए । उहाँलाई बद्री पाण्डेले पिछडिएको क्षेत्रअन्तर्गत सहमहामन्त्री पदमा पराजित गर्नुभएको थियो ।
निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले अहिलेको महाधिवेशनको म्यान्डेट नै युवापुस्तालाई अगाडि बढाउने रहेकाले युवापुस्ता र पुराना पुस्ताबीचको अन्तरसंवाद कायम गरी अनुभव र सिकाइलाई हस्तान्तरण र पुस्तान्तरण गर्न लागिपर्ने बताए । उनले पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न लागिपर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री पोखरेल यसअघि पार्टीको १२औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।