भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलाडीले देशको गरिमा बढाउने भएकाले खेलको विकास जरुरी रहेको बताएका छन्
भक्तपुर नगरपालिकाले आज आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलाडी देशका गहना भएको उल्लेख गरे । अध्यक्ष बिजुक्छेँले खेलकुदमा लाग्ने खेलाडीले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै खेलको विकास गर्नुपर्नेमा जोड दिए । वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले विद्यार्थीको खेल जीवनलाई निरन्तरता दिने र उत्साहित गर्ने सराहनीय कार्य गरेको बताए । बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउन सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता हासिल गरेको स्पष्ट पारे । यही मङ्सिर २४ गतेसम्म हुने सो प्रतियोगितामा नगरपालिकाभित्रका ६० भन्दा बढी विद्यालयका एक हजार ८८५ खेलाडी सहभागी हुने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नाष्टिकलगायत खेलका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।