खुला आकाशमुनि पढ्दै रोल्पाको धारपानीका बालबालिका



राेल्पा । आगलागी भएको लामो समयसम्म भवन पुनःनिर्माण नहुँदा रोल्पाको एक विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् ।

रोल्पा नगरपालिका– १ धारपानीस्थित कृष्ण आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । गत असोजमा भएको आगलागीबाट विद्यालय भवन नष्ट भएसँगै बालबालिका खुला आकाशमुनि बसेर पढ्ने गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयको एउटा भवनमा आगलागी हुँदा ६ कक्षाकोठा जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट फर्निचर तथा विद्यालयको अन्य सामान पनि जलेर नष्ट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले जानकारी दिए ।


“भवन जलेको लामो समय बित्दासमेत पुनःनिर्माणका लागि कसैको ध्यान जान सकेको छैन, बालबालिका खुला आकाशमुनि बसेर पढ्न बाध्य छन्”, उनले भने । विद्यालय भवन तत्काल पुनःनिर्माणका लागि रोल्पा नगरपालिकासँग आग्रह गरे पनि सुनुवाइ नभएको महराको भनाइ छ । बालबालिका कठ्याङ्ग्रिदो जाडोमा खुला आकाशमुनि बसेर पढ्न बाध्य भएको प्रधानाध्यापक थामबहादुर कुँवर बताउछन् । “जाडो विस्तारै बढ्दै छ, पुस– माघमा खुला आकाशमुनि पढाउनुपर्ने अवस्था आउँदैछ”, उनले भने ।

सम्बन्धित निकायले यथाशीघ्र ध्यान दिनुपर्ने कुँवरको माग छ । आगलागीपछि पढ्न गाह्रो भएको कक्षा ५ की छात्रा अनिता विकले बताइन् । सबै विद्यार्थीलाई पठनपाठन गराउन समस्या भएको प्रधानाध्यापक कुँवर बताउछन् । “एउटै भवनमा मात्र विद्यार्थी नअटाउँदै समस्या भएको छ”, उनले भने । छिमेकी विद्यालय बालकल्याण नमूना माविले सो विद्यालयलाई फर्निचर सहयोग गरेको छ । विद्यालयले १० थान डेस्क बेञ्च सहयोग गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्वाचन क्षेत्रभित्र पर्ने उक्त विद्यालय रहेको गाउँ पूर्वसभामुख कृष्णबहादुर महराको जन्मस्थल पनि हो ।