सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा विहिबार हजारौले प्रदर्शन गरेका छन् । विभिन्न पक्षसँग भएको सम्झौता विपरित गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले सैन्य ‘कू’ अमान्य रहेको र सर्वपक्षीय सरकार बनाउनु पर्ने माग राखेका छन् । उनीहरूले जनताको शक्ति जनताका प्रतिनिधिलाई नै दिन पनि सैनिक नेतृत्वसँग माग गरेका छन् ।
सैनिक जनरल अब्दुल फताह अल बुर्हानले गत अक्टोबर २५ मा प्रधानमन्त्री अब्दुल्ला हमडकलाई अपदस्त गरिएको घोषणा गरेका थिए । तर देशव्यापी आन्दोलन र अन्तराष्ट्रिय दवाबका कारण गत आइतबार मात्रै उनलाई पुनर्वहाली गरिएको थियो । प्रदर्शनकारीले भने सैन्य नेतृत्वप्रति अविश्वास गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन सुरु भएदेखि अहिलेसम्म देशभरी ४२ जनाको मृत्यु भएको जनाइएको छ । तत्कालिन शासक ओमर अल बशिरलाई अपदस्त गरेपछि सन् २०१९ देखि हमडकलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो ।