सर्वोच्चमा अदालतमा सबैखाले मुद्दामा सुनुवाइ



काठमाडाैं, २ मङ्सिर । सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तीमध्ये न्यायाधीश बमकुमार श्रेष्ठ र डा कुमार चुँडालको संयुक्त इजलास, न्यायाधीश टङ्कबहादुर मोक्तान र कुमार रेग्मीको संयुक्त इजलास, न्यायाधीश तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणसहित सबैखालको मुद्दामा सुनुवाइ भएको हो । प्रधानन्यायाधीश राणाले आज नौवटा इजलासमा पेसी तोकेका थिए । उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका थिएनन् ।


पेसीमध्ये एउटा पूर्ण इजालास, सात वटा संयुक्त र एउटा एकल इजलासमा रहेको थियो । गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशमाथि विभिन्न प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए । सर्वोच्च अदालतमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदन पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पछिल्लो केही दिनदेखि न्यायाधीशद्वय तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाशकुमार ढुङ्गाना, डा कुमार चुँडाल, बमकुमार श्रेष्ठ, डा मनोजकुमार शर्माले इजलसामा बन्दीसहित सबै खालका मुद्दाको सुनुवाइ गरिरहेका छन् । अदालतमा मुद्दाको चापअनुसार नियमतिरुपमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।