बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



हेटाैँडा, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् ।


मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन । यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन ।  

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहे ।

नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सम्मिलित गठबन्धनबाट गत कात्तिक १२ मा मुख्यमन्त्री भएका थिए।