पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छः प्रधानमन्त्री



१९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशनको मिति अब नसर्ने बताएका हुन् ।

उनले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए । प्रधानमन्त्रीले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए ।


उनले भने, ‘अहिले पार्टी महाधिवेशन हुँदैछ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस् । महाधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ।’ प्रधानमन्त्रीले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरे ।