वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा



१८ कात्तिक । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।

विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो । महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो ।


घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८÷०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ । वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।