बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ



काठमाडाैँ, ३ मङ्सिर । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम रु ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई आज भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए ।


पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।