प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका अदालत बन्द गर्ने बार अध्यक्षको चेतावनी



काठमाडौं, २६ कात्तिक। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए देशभरका अदालत बन्द हुनसक्ने चेतावनी दिएको छ । शुक्रबार सर्वोच्च अदालत घेराउपछिको कोण सभामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका अदालत बन्द हुनसक्ने चेतावनी दिएका हुन् ।

उनले आइतबार पनि विरोधका कार्यक्रम जारी राख्ने बताए । उनले जबरालाई प्रधानन्यायाधीश नमान्ने भन्दै राजीनामा दिन आग्रह गरे । उनले भने, ‘अब बारले चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशको रुपमा मान्ने छैन।’


अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले बालुवाटारमा विचौलिया भेट्ने तर, अदालतमा न्यायाधीश नभेट्ने काम गरेको र त्यो राम्रो नभएको बताए । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराले पैसाको आडमा न्यायको बन्ध्याकरण गरेको आरोप लगाए ।

उनले न्यायपालिकामा भइरहेको घटनाको विषयमा राजनीतिक दल नबोलेको भन्दै आपत्ति जनाए । प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोगि सुझाव दिएका थिए ।

उनले सक्ने भए प्रधानन्यायाधीशलाई एक्लै इजलास सञ्चालन गरेर देखाउन पनि चुनौती दिए ।उनले जबराको प्रधानन्यायाधीशबाट बहिर्गमन निश्चित भएको भन्दै कस्तो बहिर्गमन खोज्ने भन्ने प्रश्न मात्रै भएको बताए ।