प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा



१५ कात्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा आचार्यले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मत नपाउने निश्चित भएपछि उनले प्रदेश सभामा आफनो मन्तव्य राख्दै राजीनामा दिएका छन्।

‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।’


उनले प्रदेश सभा बैठकमा आफ्नो सरकारले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ ।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्।