प्यूठानमा कांग्रेसको मतगणनास्थलमा झडप, प्रहरीसहित सात घाइते



प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थलमा विवाद हुँदा प्रहरीले बल प्रयोग गरेकोे छ । मतगणनाको क्रममा रामचन्द्र पौडेल– कृष्ण सिटौला पक्षका विष्णु कुमार गिरीले अग्रता लिएपछि सभापति शेरबहादुर देउवा पक्षका युवाहरुको समूहले अचानक आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।

मत परिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको छ । लुम्विनी प्रदेशका प्रहरी नायव महानिरीक्षक मुकुन्द आचार्यले मतगणनास्थलमा कसैले बाहिरबाट ढुंगा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रुग्यास प्रयोग गरेको बताए । स्थानीयका अनुसार स्वर्गद्वारी क्याम्पस मतगणना चलिरहँदा बाहिर रहेका कांग्रेस कार्यकर्ताहरुले मतगणना स्थलमा ढुंगा प्रहार गरेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर झडप भएको थियो ।


झडपका क्रममा प्रहरी जवान गोपाल जिसी सहित ७ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ घाईते हुनेमा २३ वर्षीय चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका –२ का २० वर्षीया कमल घर्ती,नौबहिनी –६ का २६ वर्षीया कुंवर पुन, २३ वर्षीय विनोद रिजाल र प्यूठान नगरपालिका –७ का खेमराज पण्डित रहेका छन् । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ।