निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने निर्णय अद्यावधिक



१८ कात्तिक । निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई अद्यावधिक गरेको छ ।

विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने विषय आयोगले अद्यावधिक गरेको हो । मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो।


विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो । नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

उनकाअनुसार अब पार्टीको कामकारबाही अघि बढाउन कुनै कानुनी अवरोध हुने छैन। विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डे छन्।

संयोजक पाण्डेले भने मिश्रलाई एकलौटी हिसावले केन्द्रीय समिति बैठक गर्ने अधिकार नभएको बताइरहेका छन् । संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव उनीपक्षका केन्द्रीय सदस्यहरूले पारित गरेका थिए भने उक्त बैठकमा पाण्डे पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् । पछिल्लो समय अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच एक–अर्को प्रस्ताव ल्याउने र भिन्नभिन्न केन्द्रीय समिति बैठक बस्ने गरेको छ ।