थपिए २९६ सङ्क्रमित, ३६९ जना सङ्क्रमणमुक्त



काठमाडाैं, ३ मङ्सिर । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।


पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् । सङ्क्रमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३६९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट निकाे भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४९४ जनाको मृत्यु भइसकेकाे छ ।

होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसियु)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।