गाई काटेको आरोपमा पाँच पक्राउ



सिन्धुपाल्चाेक, २४ कात्तिक। राष्ट्रिय जनावर गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् ।

गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।


स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्रहरी टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।